skip to main | skip to sidebar

Tuesday, January 18, 2011

डायलअप इन्टरनेट बन्द हुने अवस्थामा


'एडिएसएल, केबुल, थि्रजी इन्टरनेटले गर्दा डायलअपका ग्राहक निकै घटेका छन्,' इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष विनय बोहोराले भने। डायलअप ग्राहक घटेपछि इन्टरनेट सेवा प्रदायकले अप्टिकल फाइबर र केबुलबाट सेवा सुरु गरेका छन्। डायलअपबाट इन्टरनेट चलाउँदा उपभोक्ताले इन्टरनेट प्याकेजको लागि छुट्टै र टेलिफोनको लागि हरेक चार मिनेटको एक कल बराबर महसुल तिर्नुपर्छ। यसबाट इन्टरनेट निकै सुस्तसमेत हुने भएकाले ग्राहकहरु घटिरहेका हुन्। 

'यो प्रविधि अहिले इन्टरनेट ब्याकअपको लागि मात्र चलिरहेको छ,' बोहोराले भने। केबुल, वायरलेस प्रविधि कुनै बेला बन्द हुँदाको लागि भनेरमात्र केही ग्राहकले लिइरहेको उनले बताए। नेपाल टेलिकमले एडिएसएल सेवा सुरु गरेपछि डायलअपका उपभोक्ता घट्न थालेका हुन्। एडिएसएल सेवा ७५ वटै जिल्लामा एडिएसएल पुगिसकेको छ। टेलिकमले तीन वर्षअघि सुरु गरेको एडिएसएलबाट इन्टरनेट चलाउँदा टेलिफोनको लागि छुट्टै महसुल तिर्नुपर्दैन। नियामक संस्था दूरसञ्चार प्राधिकरणका अनुसार असोजमा टेलिकमको डायलअप ग्राहक सात हजार पाँच सय ५६ थिए। कात्तिकको विवरण अनुसार सात हजार ८२ मात्र छन्। सबै सेवा प्रदायकको डायलअप ग्राहक असोजमा २७ हजार ५६ रहेकामा कात्तिकमा घटेर २६ हजार पाँच सय ८२ मा सीमित भएका छन्। एक वर्षअघि इन्टरनेटका जम्मा ग्राहक ६ लाख ९३ हजार थिए। अहिले १६ लाख २३ हजार पुगेका छन्। इन्टरनेट ग्राहक बढे पनि एडिएसएलबाट चलाउनेको संख्या भने महिनैपिच्छे घटिरहेका छन्। 

डायलअपका ग्राहक घटेपछि कम्पनीहरू टिक्न वायरलेस सेवामा जाने तयारी गरिरहेका छन्। नयाँ प्रविधिमा जान नसक्ने कम्पनीहरु बन्द भइरहेका छन्। उपभोक्ताको माग अनुसार नयाँ प्रविधिबाट इन्टरनेट सेवा सुरु गर्न नसक्ने १४ कम्पनीहरू बन्द भएका छन्। आइएसपी सञ्चालन गरिरहेका व्यवसायीहरूले समेत अहिलेकै प्रविधिबाट सेवा दिने हो भने भएका उपभोक्ता बढ्ने भन्दा गुम्दै जाने बताएका छन्। इन्टरनेट सेवा सुरु हुँदा चलाइने डायलअप प्रविधि अहिले संसारका अधिकांश देशहरूमा लगभग विस्थापित भइसकेको छ। नेपालमा अहिले बन्द भएका आइएसपीहरू डायलअप प्रविधिमै सीमित रहेका थिए। डायलअप प्रविधिबाट इन्टरनेट प्रयोगकर्ता घटेपछि ब्रोडलिङले भर्खरै ठूलो लगानी गरेर वाइफाइ सेवा सुरु गरेको छ। यसबाट सेवा पुगेका जुनसुकै ठाउँमा इन्टरनेट चलाउन सकिने भएपनि लोडसेडिङ, सहरको अवस्थाले गर्दा प्रभावकारी सेवा दिन सकिरहेको छैन। 

टेलिफोन सेवा प्रदायक कम्पनीहरुले नयाँ प्रविधिबाट इन्टरनेट सुरु गरेपछि डायलअप लगभग विस्थापित जस्तै हुन लागेको छ। टेलिकमले सिडिएमएबाट ल्यापटप र डेस्कटपमा इन्टरनेट चलाउन सकिने प्रविधि ल्याएको छ। त्यस्तै एनसेलले थि्रजीअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सुरु गरेपछि पुरानो प्रविधिका ग्राहक घट्दै गएका हुन्।ब्रोडव्याण्ड सेवा सुरु भएपछि न्यारोव्याण्ड सेवा अन्तरगत पर्ने डायलअपका ग्राहक ह्वात्तै घटेका हुन्। नेपालमा २५६ किलोबिट्स प्रतिसेकेण्ड स्पिडको इन्टरनेटलाई ब्रोडव्यान्डको रुपमा लिइन्छ। डायलअप प्रविधिबाट इन्टरनेट चलाउन नेपाल टेलिकमको तारवाला (पिएसटिएन) फोनमा भर पर्नुपर्छ। डायलअप प्रविधिबाट इन्टरनेट चलाउँदा उपभोक्ताले दोहोरो शुल्क तिर्नुपर्ने भएपछि उपभोक्ताहरू अहिले एडिएसएल, थि्रजी, सिडिएमए र फाइबरतिर आकर्षित भएका छन्।

डायलअप प्रविधिबाट इन्टरनेट सेवा प्रयोग गर्दा सम्बन्धित आइएसपीलाई पनि स्पिड अनुसार कम्तिमा मासिक एकहजार रुपैयाँ तिर्नुपर्छ। यसले गर्दा सेवा प्रयोग गर्ने उपभोक्ताले दोहोरो शुल्क तिर्नुपर्छ। 
दूरसञ्चार प्राधिकरणका अनुसार अहिले नेपालमा ४९ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन्। वर्ल्डलिंक, मर्कन्टाइल, भायानेट, सुबिसुबाहेक अधिकांश साना लगानीका हुन्।

0 comments:

Post a Comment

Thank's for your valuable comment