skip to main | skip to sidebar

Friday, December 24, 2010

साइबर अपराध अब अदालतमा

मुलुकमा साइबर अपराधसम्बन्धी कानुन निर्माण भएपछि उक्त कानुनलाई टेकेर न्यायालयसमक्ष पुगेको वीरगन्जको एउटा मुद्दा अहिले चर्चाको बिषय बनेको छ । साइबर अपराधका आरोपी एक युवक भदौ २३ गते पर्सा जिल्ला अदालतमा १ लाख ३० हजार रुपैयाँ धरौटी राखेर सामान्य तारेखमा छुटेका छन् । मुलुककै नौलो खालको तथा सम्भवतः पहिलो यो मुद्दाका आरोपी वीरगन्ज उपमहानगरपालिका-२, छपकैंयाका शैफ भनिने जहाँगिर आलम पर्सा जिल्ला न्यायाधीश विष्णुप्रसाद कोइरालाको आदेशमा धरौटी लिई तारेखमा रिहा भएका हुन् ।

२७ वषर्ीय जहाँगिरविरुद्ध वीरगन्जकै एक युवती रमा -नाम परिवर्तन) ले असार २ गते जिल्ला प्रहरी कार्यालय पर्सामा साइबर अपराध मुद्दाको किटानी जाहेरी दर्ता गरेकी थिइन् । ती युवतीले आफ्नो सेक्स टेपलाई जहाँगिरले इन्टरनेटका विभिन्न साइटमा राखेको तथा त्यसको सिडीसमेत बनाई बजारमा सार्वजनिक गरेको आरोप लगाएकी छिन् । गत जेठ २३ गते युट्युबलगायत विभिन्न अश्लील पोर्नसाइटमा ती युवतीसमेत सरिक सेक्सक्लिप राखिएको थियो । 

चरणबद्ध रूपमा दुई थरीका क्लिप इन्टरनेट साइटमा राखिएका थिए । तेस्रो क्लिप भने सिडीका रूपमा बजारमा आएको थियो । आगोझैं फैलिएको वीरगन्जसँग सम्बन्धित उक्त सेक्स टेप प्रकरण पछि जहाँगिर फरार भएका थिए । उनी एकैपटक अदालतमा उपस्थित भएका हुन् । 

युवतीले विवाहपूर्व आफ्नो प्रेमसम्बन्ध जहाँगिरसँग रहेको र त्यसै क्रममा उनीसँग राखिएको शारीरिक सम्बन्धको तस्बिर मोबाइलको क्यामेराबाट छायांकन गरी इन्टरनेट वेबसाइट तथा सिडीमार्फत सावर् जनिक गरिएको दाबी गरेकी छिन् । उक्त मुभीलाई जहाँगिरले एमएमएस तथा सिडी बनाई सार्वजनिक रूपमा बिक्री-वितरणसमेत गरेर आफूलाई हदैसम्मको ब्ल्याकमेलिङ गर्ने काम गरेको रमाले बताएकी छिन् । युवतीको माइती तथा घर दुवै पक्षका व्यक्तिहरूको नामै उल्लेख गरेर उक्त सेक्स प्रकरण सार्वजनिक भएपछि उनको माइती र घर दुवै पक्षले सामाजिक रूपमा ठूलो अपहेलना भोग्नुपर्‍यो । भारतमा उनको घर पक्ष आफू बस्दै आएको सहरबाट बसाइँ सरिसकेको छ । 

जहाँगिरले आफूसँग पटक-पटक शारीरिक सम्पर्क राख्न धम्की र दबाब दिएको तर आफूले नमान्दा उक्त मुभीको सिडी आफ्ना श्रीमान्को घर तथा माइतीमा पठाई आफ्नो बेइज्जती गरेको दाबी जाहेरीमा गरिएको छ । उक्त सेक्स टेप प्रकरणपछि आफ्ना बुबा पक्षघात भै हिडडुल गर्न नसकी अपाहिज भैसकेको तथा बहिनीहरू घरबाट बाहिर निस्कन नसकेको उनले आफ्नो जाहेरीमा उल्लेख गरेकी छिन् । हाल श्रीमान्ले आफूलाई बहिष्कार गरी माइतीमा छाडी गएको अवस्थामा समेत जहाँगिरले आफूलाई पटक-पटक धम्की दिइरहेको उनले आरोप लगाएकी छिन् । रमाले जहाँगिरसँग आफ्नो मित्रता एवं प्रेमसम्बन्ध एक कम्प्युटर इन्स्िटच्युटमा कम्प्युटर सिक्ने क्रममा भएको बताएकी छिन् । जहाँगिरले त्यस क्रममा आफूलाई नशालु पदार्थ ख्वाएर शारीरिक सम्पर्क राखेको तथा त्यसको तस्बिर खिचेको दाबी गरेकी छिन् । उक्त मुभी वीरगन्जकै छपकैयातिर खिचिएको हुन सक्ने उनको अनुमान छ । 

अविवाहित जहाँगिरले अदालतमा बयानका क्रममा आफूले हालसम्म रमासँग भेटघाट नगरेको र उनीसँग आफ्नो कुनै पनि खालको मित्रता तथा सम्बन्ध नरहेको बताएका छन् । रमाले जाहेरीमा आफूउपर लगाएका आरोप पूर्ण रूपले झूटो र निराधार भएको उनको जिकिर छ । जहाँगिरले आफूले कक्षा ८ सम्म मात्र पढेको र रमासँग कुनै सम्बन्ध र सरोकार नभएकाले उनी संलग्न सिडी तथा सेक्स क्लिप आफूले सार्वजनिक नगरेको जिकिर गरेका छन् । 

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा उक्त मुद्दा प्रस्तुत गर्दै जहाँगिरले विद्युतिय -इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७-१) अनुसारको कसुर अपराध गरेकाले उनलाई हदैसम्मको सजायको माग गरेको छ । सरकारी वकिलको कार्यालयको अभियोगपत्रमा जहाँगिरले सामाजिक जातीय सद्भाव बिगार्ने, कसैप्रति घृणा वा द्वेष फैल्याउने वा विभिन्न जातजाति तथा साम्प्रदायिक सुमधुर सम्बन्ध खलल पार्ने कार्य गरेकाले उनलाई सजायको माग गरेको छ । 

न्यायाधीश कोइरालाको इजलासले थुनछेक प्रयोजनको बहसपछिको आदेशमा 'आरोपित जहाँगिर कसुरदार देखिए पनि निजलाई अदालती बन्दोबस्त ११८-२) अनुसार थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले पछि प्रमाण बुझ्दै जादा ठहरेबमोजिम हुने गरी निज प्रतिवादीबाट अदालती बन्दोबस्तको ११८-५) समेतको आधारमा धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने' भनी उल्लेख छ । 

रमाका कानुन व्यवसायी अधिवक्ता सुधीर कर्णले अधिराज्यमै सम्भवतः कुनै पनि न्यायिक निकायमा दर्ता गरिएको सबैभन्दा पहिलो यस्तो खालको मुद्दामा आफूले चाहेर पनि बहस पैरवी गर्न नपाएको बताए । आफू कामविशेषले हेटौंडामा रहेको र रमालाई समेत उक्त मुद्दाको पेसी बुधबार परेको कुराको जानकारी नहुँदा अत्यन्त कम समयमा अदालती कारबाही सम्पन्न भएको उनले बताए । उनले सूचना र प्रविधिको वर्तमान युगमा यस्ता खाले मुद्दामा इजलासमै भिडियो, कम्प्युटर आदि राखेर न्याय निरूपण गर्न सकिने अवस्था विद्यमान हुँदाहँुदै पनि त्यसो नगरिएको गुनासो गरे । उनले प्रहरीले यो मुद्दामा गम्भीर रूपमा अनुसन्धान गर्न सक्ने अवस्था हुँदाहँुदै पनि त्यसो नभएको बताए । आरोपी एक्लैले उक्त टेप बनाउने, एडिटिङ गर्ने र वेबसाइटमा हाल्नेसम्मको काम गर्न नसक्ने अवस्था रहेको र उक्त कार्यमा कम्तीमा तीन-चार जनाको समूह लागिपरेको निश्चित हुँदाहँुदै पनि जहाँगिर एक्लैलाई अभियुक्त बनाउनु प्रहरी अनुसन्धानमा रहेको कमजोरीको प्रमाण भएको उनको आरोप छ । प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठ भने यो मुद्दा हालसम्मकै अत्यन्त नौलो र जटिलसमेत भएकाले प्रहरीले अत्यन्त गम्भीरतापूर्वक लिएको जिकिर गर्छन् । उनले व्यापक अनुसन्धानपछि मात्र प्रहरीले सरकारी वकिलको कार्यालयमा मुद्दा पेस गरेको बताए । 

यता जिल्ला सरकारी वकिलको कायर्ालय जहाँगिरलाई धरौटीमा छाडने जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गर्ने तयारीमा जुटेको कार्यालय स्रोतले बताएको छ । विवाहअघिको प्रेमसम्बन्ध र त्यस क्रममा भएका गतिविधिका कारण अनपेक्षित नतिजा बेहोरेकी रमा हाल बिस्तारै उक्त घटनाजनित सामाजिक अपहेलना, लाञ्छनाबाट आफूलाई सम्हाल्ने क्रममा छिन् । घरबाट बहिष्कृत भैसकेकी उनले अकल्पनीय घटना बेहोरेको र आफ्ना कारण माइती पक्ष पनि ठूलो पीडाको सिकार भएकाले आफू अत्यन्त दुःखित भएको बताएकी छिन् । यद्यपि रमाले पहाडजस्तो लामो जीवनलाई त्यत्तिकै घरमा बसेर खेर नफाल्ने मनस्थिति बनाएकी छिन् । विवाहका कारण आफ्नो उच्च शिक्षा अवरुद्ध भएकाले अब उच्च शिक्षालाई निरन्तरता दिने र स्वावलम्बी बन्न चाहेको उनी बताउँछिन्, तर यो कुरा समाजले सकारात्मक सहयोग र समर्थन गरिदिए मात्र सम्भव भएको कुरा उनलाई थाहा छ । कुनै सहृदयी संघसंस्थाले आफूलाई पुनर्जीवन दिने पहल गरे आफू त्यसका लागि तयार रहेको पनि उनको भनाइ छ । टेप प्रकरणको पात्र आफू एक्लै नभई आफूलाई बदनाम गर्ने युवक पनि उत्तिकै जिम्मेवार भएकाले पितृसत्तात्मक समाजले आफूलाई मात्र दोषी बनाइरहेको उनको गुनासो छ । समाजमा यस्ता क्रियाकलाप गर्ने पुरुष पनि उत्तिकै दोषी हुनुपर्ने र उसको सामाजिक बहिष्कार गर्न सक्नुपर्ने उनको भनाइ छ । 

यसअघि एक गायक तथा हास्यकलाकारको यस्तै खाले टेप सार्वजनिक हुँदा हालको ऐन बनिनसकेकाले उनलाई गाली बेइज्जती ऐनअनुसार कारबाही चलाइएको अधिवक्ता कर्ण बताउँछन् । त्यसैगरी चर्चित दुई मोडल तथा नायिका यस्तै खालका दुई फरक प्रकरणमा चर्चामा आए पनि उनीहरूले कुनै कानुनी उपचार खोजेनन् । 

वीरगन्जका लागि पनि यस्तो घटना पहिलो भने होइन । यसअघि पनि वीरगन्ज स्थानीय घर भएका एक अन्र्तराष्ट्रिय खेलाडीको भिडियो क्लिप्स सार्वजनिक भएको थियो । स्थानीय एक महिलासँगको उनको उक्त टेपले पनि आगाको झिल्कासरह चर्चा बटुलेको थियो । आधुनिकतासँगै बढ्दो साइबर अपराध यहाँका युवा पुस्ता र उनीहरूका अभिभावकका लागि पनि चिन्ताको विषय बन्दै गएको छ । फलस्वरूप साइबर अपराधसम्बन्धी कानुनलाई अझ बढी प्रभावकारी र बलियो बनाउनुपर्ने धारणा अधिकांश अभिभावकको छ ।

मुद्दा अरु पनि छन्

अश्लील इमेल गरेको अभियोगमा हिरासतमा परेका पोखराका दुई सञ्चार व्यवसायीलाई सोमबार काठमाडौं जिल्ला अदालतले जनही ४० हजार धरौटीसहित पुर्पक्षका लागि तारेखमा छाडिदिएको छ । पोखरा हटलाइनका अध्यक्ष राजु भण्डारी तथा मार्केटिङ म्यानेजर हरि पन्तले गालीगलौज गरी इमेल गरेको भन्दै पत्रकार होम गुरुङले उनीहरूविरुद्ध कास्की प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले उनीहरूलाई भदौ १७ गते अनुसन्धानका लागि हिरासतमा राखी आइतबार काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरेको थियो । अपराधको नयाँ कानुनी परिभाषाभित्र पर्ने विद्युतीय कारोबार ऐन काठमाडौं जिल्ला अदालतले मात्रै हेर्ने अधिकार पाएको छ । सोमबारै न्यायाधीश लेखनाथ घिमिरेको इजलासले पत्रकारद्वयलाई धरौटी तिरेर तारेखमा हाजिर हुने आदेश दिएको हो । कसुर प्रमाणित भए ऐनअनुसार पाँच वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै हुन सक्नेछ । 'हाम्रो गल्ती केही थिएन,' पत्रिकाका प्रधान सम्पादक माधव शर्माले भने, 'बिनाकसुर थुन्ने र धरौटी लिने काम भयो ।' विद्युतीय कारोबारमा काठमाडौं जिल्ला अदालतमा परेको यो नै पहिलो मुद्दा हो । यसैगरी नेपाल पत्रकार महासंघ, कैलाली शाखाका अध्यक्ष्ू दीर्घराज उपाध्यायले पत्रिकाका प्रकाशक तथा एबीसी टेलिभिजनका प्रतिनिधि प्रकाश शाहले नक्कली इमेल आईडीमार्फत आफ्नी श्रीमतीसहित केही महिलाको नाम जोडेर सन्देश पठाउने गरेको आरोप लगाएका छन् । यो प्रकरणमा पत्रकार शाहविरुद्ध उपाध्यायले मुद्दा दर्ता गराएपछि शाह अहिले प्रहरी हिरासतमा छन् ।

0 comments:

Post a Comment

Thank's for your valuable comment